सञ्चार माध्यमप्रति उपप्रधानमन्त्रीको आक्रोश- कुनै जिम्मेवारी छैन, जे मन लाग्यो त्यही लेख्यो

Spread the love

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोख्रेलले सञ्चारमाध्यमले निर्वाह गरिरहेको भूमिकाप्रति आपत्ति जनाएका छन्। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी हुनु भन्दा स्रोतको सेवामा समर्पित हुने गरेको आरोप लगाए।

सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै नभई मिडियाको पनि पब्लिक अडिट हुनुपर्ने उनको भनाइ छ। ‘कुनै जिम्मेवारी छैन, केही छैन, वान म्यान मिडिया सञ्चालन गर्‍यो, त्यसपछि जे मन लाग्यो त्यही लेख्यो। कहाँबाट स्रोत प्राप्त हुन्छ, त्यो स्रोतको सेवामा समर्पित भयो’ उनले भने। मन्त्री पोख्रेलले सञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। केही सञ्चारगृहले राजनीतिक अस्थिरता चाहनेको प्रतिनिधित्व गरे जसरी सरकारले दुई वर्ष पुरा गर्दैगर्दा ‘अब त अविश्वासको प्रस्ताव ल्याउन मिल्ने भयो’ भन्दै समाचार प्रकासन गरेको उनले टिप्पणी गरे।

उनले भने ‘राजनीतिक अस्थिरतामा खेलिरहन पाएदेखि आफ्ना धेरै स्वार्थ पूरा हुन्थे भन्ने पनि मनोदशा छ। त्यस्तो मनोदशा बनाउन नेपथ्यका पात्रहरुले भूमिका खेल्छन्। त्यही भूमिका अनुसार कतिपय राजनीतिक तहमा बसेका मान्छेहरु पनि मनोरोगी भएर प्रकट हुने गरेका छन्’ कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणी रेग्मी चुमरेलाई प्रदान गरिएको थियो।

त्यसैगरी इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदा गरिएको थियो।दुवैलाई जनही ५ सय डलर प्रदान गरिएको छ । कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरु नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट, राष्ट्रिय सूचना अयोगका पुर्व आयुक्त किरण पोख्रेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचार पत्र दैनिकका सम्पादक कपिल काफ्ले

, नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियो। कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *