विदेशी चकलेट

Spread the love

के रे! के रे… फर्किएछ रे? हैन के भन्छे यस्ले? तेत्रो पैसा ऋण खोजेर गको हैन र? त्यही नि फर्केछन्? भन्न त भएन तर ठीकै भएछ खुब धाक् लगाउँथिए त्यस्का बा आमाले…अनि ऋण तिरेर भ्याएछन् कि नाइ कुन्नी?’ धादिङको बीचबजारको बीचमै रहेको चौतारामा फात्सुङ पढेर बसिरहेकी थिएँ मेरो कानमा त्यो आवाज ठोक्किन पुग्यो। फर्केर हेरें। दुई जना अधबैंसे दिदीहरू चौताराको अर्को छेउमा बसेर गफ गर्दै हाँसेको देखें। अचम्म लाग्यो उनीहरू मज्जाले हाँसेर कुरा गर्दा। हुन त मान्छेको बानीनै त्यस्तै हुन्छ। अर्काको प्रगतिमा रिस गर्ने अनि अर्काको दु:खमा खुसी मनाउने। झन् गाउँघरमा यस्ता प्रवृत्तिको त कुरै नगरौं।

म सानैबाट काठमाडौं बसेको भएर धादिङमा मलाई खासै कसैले चिन्दैनन् र म नि चिन्दिनँ। सानोमा पढ्नै व्यस्त अहिले आएर काम र पढाइ दुवैको प्रेसरले त्यति घर जान पाउँदिनँ… गएँ भनेनि बढीमा एक हप्ता जुन बुवाआमासँगै बस्दा बित्छ, वरिपरिका घर बाहेक धेरैलाई म चिन्दिनँ। घर जाँदा होस् या फोनमा मैले धेरै पटक बुवाआमाको मुखबाट सुन्थें, ‘यत्रो ऋण लिएर छोरालाई अमेरिका पठाइयो तर यसको भाग्य नै खोटो रहेछ, सबैले त्याँ बस्न पाए तर छोराकै भिसा नथपिनु पर्न! अब दुनियाँको अगाडि कसरी मुख देखाउने होला?’

मेरो दाइ ४ वर्ष अमेरिका बसेर ब्याचलर्स सकेर फर्केको थियो, हो उसले पैसा कमाएर ऋण तिर्न सकेन। तर त्यस्मा दाइको के गल्ती? सबैका घरबाट कोही न कोही विदेश भएकै कारण विदेशमा त केकेनै रहेछ भनेर विदेश पठाउने चाहन देखाउनु भयो बुवाआमाले, दाइ नि काम थिएन समुन्द्रको बीचमा फोटो खिच्ने अनि डिएसएलआर बोकी हिँड्ने सपनामा विदेश जान चाहन्थ्यो।

१२ क्लास सकेर विदेश जाने दाइको मात्र चाहना थिएन, बुवाआमाले नि यही चाहनु भएको थियो। किनकी हाम्रा इष्टमित्रका छोराछोरी विदेश नै थिए। दाइलाई खर्च भएको ऋण तिर्नुपर्छ, त्यहाँ गएर काम गर्नुपर्छ र पढ्नुपर्छ भन्ने सोच भन्दा नि जीवनमा एकचोटि विदेश जानैपर्छ भन्ने चाहना बढी थियो। भर्खर ८ क्लास पढ्दै गरेकी मेरो के बुद्धि…जसो जसो सुने त्यही ठीक लाग्यो।

अहिले दाइकै उमेरको भएँ। १२ क्लास सके तर दाइको त्यो बेलाको सोच र मेरो सोच फरक छ। अहिले सोच्छु तेस्लाई कसरी विदेशको भूत चढ्यो? ल ठीक छ उमेरको दोष तर यत्रो ऋण लगाएर जान लागेछु तिर्ने मेरो जिम्मा हो भन्ने कुरा किन सोच्न आएन तेस्लाई? १२ क्लास पढेकोले काम त के पाउनु गएर स्किल केही थिएन, कहिले रेस्टुरेन्ट त कहिले हाउस किपिङमा काम गरेछ… जेनतन आफ्नै कमाइले ब्याचलर्स पढेर सक्यो तर ऋण भने जतिको त्यति नै!

रेस्टुरेन्टबाट कमाएको पैसाले उस्को कलेज फी तिर्दै ठीक्क भएछ यता घरमा बुवा चाहिँ ब्याज तिर्दै…४ वर्ष पढिसकेर अब १/२ वर्ष काम गर्छु अनि घर पैसा पठाउँछु भन्ने सोचेको त थियो रे दाइले तर फ्याट्ट देशको नियम चेन्ज भएर भिसा एक्स्टेन्ड नै नभई घर फर्किनु पर्‍यो दाइ। नाशिम र नोर्देनको कथामा मग्न भैराखेको म ती दिदी कुराहरूले कता पुगेछु कता। साँच्चै नै अहिले हामी हाम्रो लागि नभइ समाजको लागि बाँचिराखेका छौं जस्तो भान हुन्छ।

मैले यो काम गरे वा त्यो काम गरे अरूले के भन्ला भनेर बढी सोच्छौं। अरूका छोराछोरी विदेश गएर के भयो त हामी नि जानैपर्छ भन्ने छ र? हो विदेशको कमाइ नेपालमा ल्याउँदा धेरै हुन्छ तर नेपालमा बस्नै नहुने, १२ क्लास सक्नासाथ कलिलो उमेरमै विदेश जानुपर्ने किन होला खै? मेरो दाइजस्तै ब्याचलर्स पढेर आए नि पढाइ को गन्ती नहुने फर्केको भनेर लाज नै मन्नुपर्ने किन होला? ऋण धन जे गरेर भए नि दाइले डिग्री लिएर आयो अब आफ्नै देशमा केही गर्न सक्छ भन्ने सोच कसैमा आएन।

खाली छ त विदेशबाट फर्केको पीडा! के विदेश गएसी नेपाल घुम्नलाई मात्र आउनु पर्ने हो र? विदेशमा जति नै खटेर काम नेपालमा गरेको भए शायद आज मेरो बुवालाई ऋणको भारी बोक्नुपर्ने थिएन। हामीले सबै कुरालाई पैसा मै हिसाब गर्ने भएकोले आज मेरो जस्तै धेरैका बाबा आमाले दु:ख पाउनु भएको छ । सोच ठूलो राखौं र काम गरौं। हाम्रो देश कुनै पश्चिमी मुलुकभन्दा कम छैन। ‘फर्केर आए नि विदेशी चकलेट त ल्याए होला नि हिँड् जाम खान’ भन्दै दिदीहरू हिँडे। कुरा सुन्दै गर्दा थाहा पाएँ कि चौतारामा मेरै दाइको कुरा भैराखेको पो रहेछ। जवाफ त दिन म लागेको थियो तर होस् थाहा नपाएझैं बसेँ अनि फात्सुङलाई नै अगाडि बढाएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *