महिला रोकिए संसार रोकिन्छ

Spread the love

‘कहाँ भेटिएला’ नामक चलचित्रबाट श्वेता खड्काको अभिनय यात्रा सुरु भएको हो। उनी ‘कोहिनुर’ र ‘कान्छी’ फिल्मको निर्मात्री पनि हुन्। अहिले उनी एमआरएस एन्ड इन्जिनियरिङ प्रालिमार्फत व्यापार पनि गरिरहेकी छन्। यसका साथै हिमालयन जाभामार्फत होटल तथा रेस्टुराँ व्यवसायमा समेत आबद्ध छिन्। माझी बस्तीको ५४ घर निर्माण गर्ने अभियानमा जुटेकी उनले श्वेता श्री फाउन्डेसन पनि सञ्चालन गरिरहेकी छन्। नारी दिवसको सन्दर्भमा अजवी पौड्यालले अन्नपूर्ण पोस्ट्का लागि उनीसँग गरेको कुराकानी :

तपाईंको व्यक्तित्व केले निर्धारण गर्छ ? बिजनेस त मैले पहिल्यैदेखि गरिरहेकी थिएँ तर सामाजिक परिचय बनेको थिएन। सीमित ठाउँ र सीमित व्यक्तिमाझ मात्रै चिनिन्थेँ। चलचित्रमा अभिनय गर्न थालेपछि मात्रै व्यापक सर्कलमा मेरो चर्चा चल्न थाल्यो, मेरो नाम बिक्न थाल्यो। कलाकारितामा लाग्नुको श्रेय श्रीकृष्णजीलाई दिन चाहन्छु।

तपाईं के कुरामा सफल हुनुहुन्छ ? म हरेक क्षेत्रमा सिक्दै गरेको सिकारु हुँ भन्ने लाग्छ। हात हालेको काममा पश्चात्ताप गर्नु परेको भने छैन। होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गरेकी छु। श्वेता श्री फाउन्डेसन चलिरहेको छ। क्यान्सर अस्पताल खोल्ने सुरुआती चरणमा छु। फिल्म निर्माण र अभिनय दुवैमा सफल छु। माझी बस्ती सम्पन्न हुने क्रममा छ। सामाजिक सेवाले खुसी र सन्तुष्टि दिन्छ।

धेरैतिर काम गरिरहनुभएको छ, प्रेसर हुँदैन ? अत्यन्तै प्रेसर हुन्छ। यसैले त काममा मजा छ। बोल्दा बोल्दा थाकेकी हुन्छु। घर पुग्दा टाउको दुखेर भारी भएको हुन्छ। तर के गर्नु, सुरु गरेको काम रोक्नै सक्दिनँ। स्टेबल भएर बस्नै सक्दिनँ। मेरो चरित्र नै काम गर्नु हो। काम एक्लै गर्दिनँ। कतै परिवारले सम्हालेर लैजानुहुन्छ, कतै टिमले अगाडि बढाएको छ। मैले सुरु मात्रै गर्ने हो। सबैले सहयोग गर्छन्। मसँग काममा जोडिएकाहरू पनि अत्यन्तै सहयोगी र दक्ष छन्।

सगरमाथा चढ्न बरु सजिलो छ तर सामाजिक काम गर्न गाह्रो छ। माझी बस्ती निर्माणमा पूरै ऋणमा छु, पूरा गर्न सकिरहेको छैन। श्वेता श्री फाउन्डेसनलाई कुदाउन सकेकी छैन। सपना र चाहना अनेक छन्। कहिलेकाहीँ अत्यन्तै दुःख लाग्छ। तर पनि भित्रैदेखि तँ सक्छेस् भन्ने हिम्मत आइरहेको हुन्छ। व्यापारतिर कसरी हात हाल्नुभयो ? आर्मीको सेकेन्ड लेफ्टिनेन्ट बनाउने बुवाको सपना थियो। मलाई भने बच्चैदेखि बिजनेस गर्ने रहर थियो। प्लस टु सकाएपछि म जागिर गर्थें इन्टेरियर कन्ट्रक्सनमा। त्यहाँ गरेको कामको अनुभवले मलाई बिजनेस गर्न प्रेरणा दियो। प्रत्यक्ष रूपमा बिजनेस बुझ्ने मौका पाएँ। केटी मान्छेले बिजनेस गर्न सक्दैनन् भन्ने सामाजिक मान्यता तोड्न बिजनेसमै सफल भएर देखाउनु थियो।

क्यान्सर अस्पताल बनाउने सोच कसरी आयो ? जीवनकै अभिन्न सहयात्री श्रीकृष्ण श्रेष्ठजीलाई मैले क्यान्सरकै कारण गुमाउनु पर्‍यो। रोगको बारेमा ढिलो मात्रै थाहा भयो। सुरुमै थाहा भएको भए उपचार सम्भव हुन्थ्यो होला भनेर पश्चात्ताप लागिरहन्छ। गत वर्ष मात्रै मैले भिनाजुलाई क्यान्सरकै कारण गुमाएँ। क्यान्सर र यसले दिने पीडा मैले प्रत्यक्ष रूपमा भोगेकी छु। सर्वसुलभ अस्पताल छैन। उपचार महँगो छ। यसैले पनि क्यान्सर अस्पताल बनाउनुपर्छ भन्ने लाग्यो।

तपाईंलाई महिला हुँ भन्ने महसुस हुन्छ ? महिला, पुरुष हरेक अवस्थामा समान छन्। तर समाजमा महिला कमजोर हुन्छन् भन्ने सामाजिक मान्यता स्थापित छ, जुन गलत हो। म महिला हुँ भन्ने फिटिक्कै लाग्दैन। म एक मानिस हुँ, काम गरेपछि मात्रै संसार बदल्न सकिन्छ भन्ने लाग्छ। मेरो कामले पुरुष साथीहरूसँग बढी संगत हुन्छ। यसले पनि घरकी छोरी हुँ भन्ने नै बिर्सन्छु।

नारी अधिकारका विषयमा तपाईं के भन्नुहुन्छ ? अधिकार भनेको माग्ने कुरा हैन। जन्मनासाथ पुरुषको जे जति अधिकार छ, महिलाको पनि समान अधिकार छ। एउटै प्राकृतिक प्रक्रियाले जन्मिएका महिला र पुरुष कसरी असमान ? सहनु भनेको आफैंलाई भित्रबाटै मार्नु हो। आफ्नो क्षमताले भ्याएको काम गर्न किन रोकिने ? आत्मबल बलियो भए, आर्थिक रूपमा सबल भए अधिकार मागिरहनु पर्दैन।

अधिकार पाइएन, महिलालाई दबाइयो भनिन्छ नि ? केही हदसम्म त्यो सत्य पनि हो। हामीलाई जन्मिएदेखि नै फरक व्यवहार गरिन्छ। गाउँघरमा छोरीलाई अझ बढी विभेद छ। तर बुझ्ने भएपछि पनि दबिइरहनुचाहिँ हाम्रो आफ्नै पनि कमजोरी हो। अगाडि बढ्न समस्यालाई पन्छाउन विद्रोह गर्नैपर्छ। आज जति पनि सफल महिला छन्, सामाजिक मान्यता भत्काएकाहरू नै छन्।

महिलालाई पछाडि पार्ने सामाजिक मान्यता र पारिवारिक समस्या नै रहेछन् त ? अवश्य पनि हो। धर्मको नाममा होस् या सामाजिक मान्यताको बहानामा, महिलालाई घरभित्रै सीमित पार्ने परिवार धेरै छन्। छोरीहरूको करिअर बनाउनभन्दा राम्रो ज्वाइँ खोज्न हतारिने बाबुआमा धेरै छन्। जीवन कस्तो बनाउने भन्ने त महिलामै निर्भर हुन्छ। म घर म्यानेज गर्छु, तिमी व्यापार सम्हाल भन्ने पुरुष कति जना छन् त ? महिलालाई सहयोग गर्ने घरपरिवार भएमा उनीहरूको कामको गति अझ बढ्न सक्छ।

महिला रोकिए संसार रोकिन्छ भन्छन् नि ? यो तीतो सत्य हो। उदाहरण छैन होला पुरुष एक्लै सफल भएको। संसार त प्राकृतिक रूपमै पनि महिलाबिना अधुरो छ। सत्य युगदेखि नै देवीहरू पावरफुल छन्। महिलाबिना पुरुषले संसार चलाउन सम्भव नै छैन। यो अवश्य रोकिन्छ। महिलाको सफलताको मापन कसरी गर्ने ? उसले गरेको काम र कामले दिने परिणाम नै सफलताको कसी हो भन्ने लाग्छ। पैसा कमाउनु मात्रै सफल हुनु हो भन्ने मलाई लाग्दैन। तर जीवन निर्वाहका क्रममा आर्थिक रूपमा पनि सफल हुनैपर्छ। सफलताको मापनका लागि सामाजिक व्यक्तित्व बन्नुपर्छ भन्ने लाग्छ।

तपाईंको अबको योजना ? अभिनय र सामाजिक कामलाई सँगसँगै लान्छु। केही फिल्ममा साइन गरेकी छु। तर माझी बस्ती पूरा गरेपछि मात्रै अभिनयमा लाग्छु। फिल्म निर्माणमा पनि लगानी गर्ने सोच छ। श्रीकृष्णजीलाई कसरी सम्झिनुहुन्छ ? मलाई बाटो देखाउने आइडियल पात्र हो उहाँ। प्रत्यक्ष रूपमा नभए पनि अदृश्य रूपमा सहयोग गरिरहनुभएको छ। नत्र यो हिम्मत, हौसला र लगाव कहाँबाट आउँथ्यो ? उहाँलाई बिर्सिएकै छैन, हरेक पल मसँगै हुनुहुन्छ जस्तो लाग्छ। उहाँले मलाई कलाकार बनाएर नयाँ जिन्दगी दिनुभयो।

श्रीकृष्णजीको वियोगपछिको समयलाई कसरी सम्झनुहुन्छ ? मैले खास जिन्दगी भोगेँ। साथी सर्कल र आफन्तको रियल तस्बिर बुझ्ने मौका पाएँ। जसलाई म साथी ठान्थेँ, उनीहरूको एक कल फोन आउँथेन। सहानुभूति देखाउन आउँथे र पाँच मिनेट भेट्थे उनीहरू। अब यो सकिई भन्नेहरू धेरै थिए। त्यो बेला मेरो परिवारबाहेक कोही थिएन मसँग। साथीभाइ, आफन्त सबै स्वार्थी हुने रहेछन्। म धेरै नै विक्षिप्त अवस्थामा पुगेँ। तर सोसल मिडियामा मेरा दर्शकहरूले अत्यन्तै माया गर्नु भो। उठ्नका लागि हौसला दिनुभो। ती बेलाको सहानुभूति मेरा लागि अमृत वचन हुन्। आफू राम्रो भएपछि जे गरे पनि राम्रै हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *