नेकपाको सर्कुलर : कोरोनाबाट जोगिने उपायको पर्चा घरघरमा पुर्‍याउनू

Spread the love

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस र यसबाट जोगिने उपायबारे जानकारीमूलक पर्चा बनाउन र प्रत्येक घरमा पुर्‍याउन निर्देशन दिएको छ । महासचिव विष्णु पौडेलले बुधबार अन्तरिक सर्कुलर जारी गर्दै सबै जिल्ला कमिटीलाई पर्चा बनाउन भनेका हुन् । सबै तहका कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीय सञ्चार माध्यमसँग समन्वय गरी कोरोनाबाट बच्ने उपायबारे जानकारीमूलक कार्यक्रम गर्न भनिएको छ ।

नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तरगत गर्ने भनिएको ठूलो भेला तथा जनसभाहरु भने स्थगित गरेको छ । कोरोना भाइरसबाट जोगिन सरकारले ठूला भेला तथा सम्मेलन नगर्न अपील गरेको भन्दै नेकपाले ठूला भेला र जनसभाहरु नगर्ने निर्णय गरेको हो । सबै कमिटीलाई सर्कुलर जारी गर्दै सबै तहका कमिटीको बैठक बस्ने, संगठित सदस्य र साधारण सदस्यता नवीकरणलगायतका काम भने जारी राख्न भनेको छ । उसले २०७५ जेठबाट लागू हुने गरी संगठित सदस्यता शुल्क मासिक २५ र साधारण शुल्क मासिक १० रुपैयाँ तोकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेका थिए । त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको हो ।

खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनित कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ । तर प्रधानमन्त्रीले सो सिफारिस मानेका छैनन् । खतिवडालाई अर्थमन्त्रीबाट रोक्नका लागि मात्र वामेदवलाई व्यापारिक घरानाको स्वार्थमा खडा गरिएको बुझाइ प्रधानमन्त्रीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *