जुन सहरमा भाडाको कोठामा बस्थिन् नेहा कक्कड, त्यहीँ किनिन् ठूलो घर

Spread the love

बलिउडकी चर्चित गायिक नेहा कक्कड सामाजिक सञ्जालमा सक्रिय छन्। उनले हालै सामाजिक सञ्जालमार्फत् नै आफ्ना बारेमा एउटा जानकारी दिएकी छन्, जसले धेरै प्रशंसकको ध्यान आकर्षित गरेको छ। नेहाले हालै ऋषिकेशमा एउटा ठूलो घर किनेकी छन्। यसको तस्बिर उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा राखेकी छन्। ऋषिकेशस्थित उनको घरको फोटो राख्दै उनले आफ्नो पुरानो कथा पनि भनेकी छन्।

उनले राखेका यी तस्बिर १७ लाखभन्दा बढी पटक हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यी तस्बिरमा खास के छ भने, यहाँ उनको नयाँ ठूलो घरको मात्र तस्बिर छैन, नेहाको पुरानो घरको पनि छ। उक्त पुरानो घर पनि ऋषिकेशमै छ जहाँ उनी स-परिवार बस्थिन्। नेहाका अनुसार जम्मा एक कोठाको उक्त घरमा उनी, आमाबुवा, र दिदीदाइ बस्थे।

नेहा कक्कडको ऋषिकेशस्थित नयाँ घर र पुरानो घर। उनले भनेकी छन्, ‘ऋषिकेशमा यो घर मैले किनेकी छु। अर्को फोटो मेरो पुरानो घरको हो जहाँ म जन्मिएँ। हाम्रो पूरै परिवार एक कोठामा बस्थ्यौं। यो कोठामा मेरी आमाले एउटा टेबल राख्नुभएको थियो, जुन हाम्रो किचन थियो। र यो घर पनि हाम्रो थिएन, भाडा तिरेर बसेका थियौं। अहिले मैले त्यही सहरमा किनेको आफ्नो घर देख्दा भावुक हुन्छु।’

नेहाले आफ्नो मिहिनेतले आफू यहाँसम्म आएको बताएकी छन्। ३१ वर्षीया नेहा सन् २००६ मा इन्डियन आइडल सिजन-२ मा प्रतिस्पर्धी बनेर आएकी थिइन्। सन् २००८ मा उनले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेकी थिइन्। यसपछि उनको रफ्तार तीव्र रह्यो। इन्डियन आइडल सिजन-१० र ११ मा उनी जजका रूपमा देखिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *