गोकुल बाँस्कोटाको अदालत जाने बठ्याइँ

Spread the love

सेक्युरिटी प्रेस खरिदमा कमिसन खान बार्गेन गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले उक्त अडियोबाट आफ्नो बेइज्जती भएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्। अडियोमा स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग कमिसनको मोलतोल गरेका बाँस्कोटा आफैं अदालत किन गए भन्ने प्रश्न उठेको छ। संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरूले यसलाई बाँस्कोटाको बठ्याइँ र ध्यान मोड्ने प्रयासका रूपमा अर्थ्याएका छन्।

बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा ‘अडियो टेप आफूलाई राजनीतिक, चारित्रिक तथा सामाजिक रूपमा बदनाम गर्ने उद्देश्यले बदनियत र योजनाबद्ध रूपमा सिर्जना गरिएको’ उल्लेख गरेका छन्। वरिष्ठ अधिवक्ता शम्भु थापा अडियोमा बाहिर आएजस्तो संवाद मिश्र र बाँस्कोटाबीच भए-नभएको अहिलेको मूल विषय हो भन्ने जिकिर गर्छन्।

‘उनले पदीय हैसियतले नसुहाउने कुरा बोलेका छन्। रकम दस्तुरको दावा गरेका छन्। त्यो हो कि होइन भन्ने मूल कुरा हो,’ थापाले सेतोपाटीसँग भने, ‘घुस माग्ने अधिकार र खुवाउँछु भन्ने अधिकार कसैलाई छैन। अनि त्यो छाप्यो भन्नु गैरकानुनी हो। जसरी मैले कुनै न्यायाधीशलाई घुस खुवाउँछु र दिन्छु भन्ने अधिकार हुँदैन, त्यस्तै कमिसन खान्छु र कमिसन बढाऊ भन्ने अधिकार पनि हुँदैन।’

अदालत जानु बाँस्कोटाको अधिकार भए पनि उनले जिकिर गरेजस्तो कमिसन मागेको विषयले मानहानी नहुने थापा तर्क गर्छन्। संविधानविद् भीमार्जुन आचार्य पनि अपराधसँग सम्बन्धित विषयमा गोपनीयता र गाली-बेइज्जती नहुने बताउँछन्। जुन संवाद बाहिर आएको छ, त्यो कानुनले निषेध गरेको विषयमा छ,’ आचार्यले भने, ‘अपराधको विषयमा नपर्नेबारे संवाद गरेका भए, निजी कुरा भएको भए, गोपनीयता र मान-प्रतिष्ठामा आघात पुर्‍याउने वा निजी मूल्य-मान्यताका कुरा भएको भए अर्कै हुन्थ्यो। अहिले बाहिर आएको अडियोमा जीवनको गरिमा र प्रतिष्ठाको कुरा देखिन्न। विशुद्ध सरकारी ओहोदालाई दाउमा राखेर गरिएको वार्तालाप देखिन्छ।’

बाँस्कोटा सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनले गर्ने संवादले गाली-बेइज्जती पुष्टि नहुने आचार्यको भनाइ छ। ‘उहाँको निजत्वमा असर पर्ने काम गरेको भए, प्रतिष्ठामाथि हमला भएको भए एउटा अवस्था हुन्थ्यो,’ आचार्यले भने, ‘उहाँलाई निजी जीवन संरक्षण गर्ने अधिकार छ, तर यहाँ राज्य र सरकार दाउमा राखेर कमिसनको कुरा गरेको देखिन्छ।’
बाँस्कोटाले अदालतमा मुद्दा दायर गरेर विषयान्तर गर्न खोजेको आचार्यले टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *