आन्तरिक उडानमा ४ अर्ब आम्दानी घट्दै

Spread the love

काठमाडौँ — कोरोना भाइरसको फैलिएको त्रासका कारण नेपाली वायुसेवा सञ्चालकहरूको चालु वर्ष आन्तरिक हवाई क्षेत्रमा करिब चार अर्ब रुपैयाँ बराबरको आम्दानी गुम्ने भएको छ । वायुसेवा सञ्चालक संघले सन् २०२० को पहिलो दुई महिनामा ४० प्रतिशतले विदेशी पर्यटक घटेकाले आन्तरिक हवाई रुटमा उक्त रकम बराबरको नोक्सान हुने अनुमान गरेको हो।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार आउँदो वसन्तकालीन सिजनका बुकिङ धमाधम रद्द हुन थालेका छन् । यसका कारण कम्तीमा ६ महिना हवाई क्षेत्रमा प्रभाव परिरहने संघको दाबी छ । संघले सरकारसँग एयरलायन्सलाई जोगाउन बैंकहरूलाई बुझाउनुपर्ने ब्याजलाई राष्ट्र बैंकमार्फत रि–फाइनान्स गरी भुक्तानी व्यवस्था मिलाइदिन माग गरेको छ । त्यस्तै विभिन्न बैंक तथा वित्तीय निकायबाट एयरलायन्सले लिएको अमेरिकी डलर वा नेपाली रुपैयाँको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनर्संरचनाको व्यवस्था गर्न माग गरेका छन् ।

त्यसैगरी ऋणतर्फको रकमलाई साँवामा गाभ्नुपर्ने, डलरमा लिइएको ऋणको भुक्तानी नेपाली रकममा गर्न सकिने व्यवस्था लागू गरिनुपर्ने, हवाई इन्धनमा सरकारले लगाएको मूल्य अभिृवृद्धि कर हटाइनुपर्ने, इन्धनको मूल्य ३० प्रतिशत घटाउनुपर्ने, जहाजको बिमा शुल्कमा लाग्दै आएको करमा छुट दिइनुपर्ने संघले माग गरेको छ । त्यस्तै आयल निगमले माग्दै आएको धरौटीमा बैंक ग्यारेन्टीलाई मान्यता दिइनुपर्ने, विमानस्थलले लिने जहाजको अवतरण, पार्किङ, नेभिगेसन शुल्क छुट दिइनुपर्ने भनेको छ।

यसैबीच कोरोनाबारेको नकारात्मक प्रचारका कारण सुस्ताएको नेपाली पर्यटन बजारमा काम गरिरहेका श्रमिक तथा कामदार कटौती गर्न पर्यटन व्यवसायीले सरकारलाई आग्रह गरेका छन् । होटल, ट्राभल, ट्रेकिङ, टुर अपरेटर, पर्यटक यातायात, र्‍याफ्टिङ, रेस्टुरेन्टलगायत नौवटा क्षेत्रसँग सम्बन्धित केन्द्रीय छाता संगठनले शुक्रबार संयुक्त रूपमा ज्ञापन बुझाउँदै यस्तो माग राखेका हुन् ।

ती संगठनका प्रमुखले शुक्रबार पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीमार्फत बुझाइएको ज्ञापनमा पर्यटन बजार सुस्ताएकाले आवश्यकताअनुसार श्रमिक तथा कामदार कटौती गर्न सरकारलाई माग गरेका हुन् । कटौतीमा परेका कामदारको राहत कोषका लागि सरकारले ५० प्रतिशत राहतको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । ‘पर्यटन क्षेत्रमा क्रियाशील श्रमिकलाई आवश्कताअनुसार कटौती गर्न र राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तीमा ५० प्रतिशत राहतको व्यवस्था गरियोस्,’ ज्ञापनमा छ । हाल नेपालको पर्यटन क्षेत्रमा करिब १० लाख प्रत्यक्ष रोजगारीमा छन् । पर्यटन क्षेत्रमा निजी क्षेत्रको १० खर्ब बराबरको लगानी रहेको होटल संघ नेपालको अध्ययनमा उल्लेख छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गरी सरोकारवाला निकायलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन दिन भनेअनुसार बुझाइएको यो ज्ञापनमा व्यवसायीहरूले हाल रद्द भइरहेका होटल र हवाई टिकट बुकिङको पुनर्तालिका गरिनुपर्ने, नभए पूरै रकम फिर्ता मागेका हुन् । त्यस्तै व्यवसायीहरूले विभिन्न क्षेत्रअन्तर्गत सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, वार्षिक सवारी कर, स्थानीय तहका करमा ५० प्रतिशत सहुलियत मागेका छन् । त्यस्तै अहिलेको अवस्थामा करिब एक वर्ष कुनै पनि दण्ड जरिवाना नगर्न पनि भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *